दिनको पचास त के

मोतीराम भट्ट

दिनको पचास त के हजार पटक् कती समझाउनू
म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू ।
रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिनँ के थियौ,
कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू ।
नत आ भनूँ, नत जा भनूँ म यसो भनूँ कि उसो भनूँ
तिनीको मिजाज म के भनूँ, कतिसम्म विन्ति चढाउनू ।
वय सोह्रको मन साठिको छ र पो गजब छ ति प्यारिको
मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू ।
मनसुब पुग्नू परै रहोस् दरसन् पनि छ कठिन जहाँ,
अब बाँचनेछु मता कहाँ तिनीलाई यति सुनाउनू ।
तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,
मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू ।
मणि हो भनूँ त न झल्कँने बिजुली भनूँ त न चंकने
आइना भनूँ त न टल्कने उपमा कसोरी जुराउनू ।
तिमि पर्खि पर्ख भनी भनी कन जानू, फेरि नआउनू,
खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू ।
सुन है सबै हरिको हुकुम् म हुकुम् भनूँ कि भनूँ जुलुम्
अघि जो भयो उत भै गयो तर फेरि मोति न लाउनू ।

Din ko pachas ta ke - Motiram Bhatta

कहाँ जन्म पाएँ

 मोतीराम भट्ट

कहाँ जन्म पाएँ कहाँ आज आएँ
दु:खीमा म पैला भनी चाल पाएँ
हरे कर्म मेरो पनि के रहेछ
बिधता म माथी बिरानै भएछ 
यी जस्ता अह्राई म बस्ने उसोरी
यीनैको हुकुममा छु ऐले कसोरी
विवेक छैन कत्ति पनि दैवलाई 
न मेरै दोष के भनुं यसलाई 


इ सानै उमेर् देखि मन् हर्न लागे

मोतीराम भट्ट

कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे
सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे
बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे
अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि मोति पनि झर्न लागे
बहरे मुतकारिब मुसम्मन सालिम
इ सानै उमेर् देखि मन् हर्न लागे


सरकार पो किन चाहियो

                                            मोतीराम भट्ट

मोतीराम भट्ट दुइ आँखिभौँ त तयार छन्,
तरबार पो किन चाहियो, 
तिमी आफु मालिक भैगयौ, सरकार पो किन चाहियो ।।१।। 

पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा, 
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो ।।२।। 

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो ।।३।।



म तिम्रा अघि पर्न लायक कहाँ छु  

मोतीराम भट्ट

म तिम्रा अघि पर्न लायक कहाँ छु,  
त्यसैले अघि सर्न लायक कहाँ छु।

हुकुम हन्छ तिम्रो त हाजिर छदैछु,
बिना मर्जि आँट गर्न लायक कहाँ छु।

अरुका ऊपर आखी भौ तानी हाने,
म जावो हरे मर्न लायक कहाँ छु।

जहाँसम्म मन चल्छ लौ हुन्छ  घुर्कुनु,
तनै झै नजर तर्न लायक कहाँ छु।

सहडमै छ मन हर्न सक्नु हरिले,
सुनीस मोति त्यो गर्न लायक कहाँ छु।