हुरीको गीत
लक्ष्मी प्रसाद देवकोटा क.
प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल,
प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल,
मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी,
सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी
उग्रलाई अभिसारी,
ख.
गाउँदछु, पागल वेदना हाँसी, फोहोर हावाको बेताल !
विषमको खाडी जन्मस्थल मेरो, रोएर जन्मेथें हूँ, हूँ,
ध्वंसिनी दूत्तिका विधिको बनें, दर्दको आत्मा के कहूँ,
पखेरु नागलाई कोर्रा दी हाँक्नु विकास–आकाश–पथ,
क्रोधको दिव्य सुषमा मेरो, वेगको आत्मा नै रथ ।
रोएकी सृष्टिकी रु हूँ
नाश र निर्माण चक्रका मेरा बाफका उठ्दछन् धूलि,
नागिनी झिल्का झिल्केर ठुँग्छन् निशाका उरमा, दी शूली ।
चीत्कारी उठ्छ अँध्यारो बाक्लो, प्रलय चाख्दछ एकबार,
अन्त र आदि, शून्य र सृष्टि,
लुका र मारी खेल्दछन्, क्षण–क्षण झल्केर, निभेर संसार
नृसिंह–भ्रुकी खुम्चाझैं वाष्पिल गरादार घनकी घारी ।
जसको नाच तूफान वर्षा, त्यही हो मेरो खेलको बारी ।
ग.
शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा
दिनको स्वर्णिम शहीदी च्यानमा वर्षन्छन् जल भै तारा
जराको वैरी, बढार्छु बैरी सडल दलको देश ।
सङ्क्रान्ति ज्वर हूँ प्रकृतिको जो बर्बर छु किटेर दाह्रा ।
कन्दरा–नूपुर वनकाली छमछम, भूर्भुवः स्व को ताली,
भँवरी धूलि मिल्केको सारी,
बहुलाही बनी गीत गाउँछु फाँडी सृष्टिको पाकेको बाली,
लङकामा नाचें, भारतमा नाचें, समर–प्राङ्गण मेरो ।
ध्वंसका सारा श्रृगाल गाउँछन् लप्काउँदा लागाको फेरो ।
म नीलकाली, रक्तिम जिह्वा, म चिरभोकी र प्यासी,
म चिरलाञ्छित मानवताको ज्वलनको तुमुल राशि,
भीषण सुन्दरी शिवका उरमा अधीर पद छन् चञ्चल ।
विधिको बाणको वेग छ, मेरो नृत्यमा पृथिवी ढलमल !
सागर–शेष–फणालाई ठाडो पारेर गाउँछु घोर
उत्ताल उराल, प्रलय–सुरले, असि ली बिजुली–डोर !
घ.
सत्यलाई गर्छु अभिषेक भूमा, स्वर्गका झारीका जले,
म नारसिंही शक्तिको माऊ युग–निशा हाँक्दछु बलले,
चण्डीझैं जन्जीर चट्याङ्ग भाँची फुहुन्छ सिंहको वाहन,
त्यो पशुराज जो मेरो कोपले कल्पेथ्यो दण्डको साधन ।
म उग्र शिव, म भीम सत्य, भयङ्कर सुन्दरकी देही
कान्तार–सङ्गीत, समर–मन्दिर शक्तिकी अधरकी फेन,
म वायुवादी, खलबल प्राणहरुको भँवरी केही,
कालको बाली–काटनी साकार, ऋतको अन्तको देन ।
ङ.
पल्लव–शिशुको केलिको आली ढुक्कुरको प्यारको न्यानु,
तूफानी छालले मुक्ताको शिल्प, पाठालाई आमाको न्यानु ।
स्वर्गको पटको पखाल्नी केवल, कोयली–वाणीको निर्बन्ध,
धोबिनी केवल धराको, कुसुम–उरको विन्दुको सुगन्ध !
सत्यका युगमा सपनेर सुत्छु, कलिमा बिउँझेर खेली ।
सिकाउँछु केवल चित्रान प्रभात उषालाई जो मेरी चेली ।
चिथरो मेरो पछयौरामा, सन्तुलित सुधांशु–ज्योति,
विषम दारी, बन्धन फारी
निदाउँछु नीरव कन्दराभित्र,
मुस्केर स्वप्न–संसारमा छामी सुनझुल्के प्रभातको नाडी ! | गधा बोल्छ
लक्ष्मी प्रसाद देवकोटा क. मालिक मानिस ! ही ही हः ! ही ही ह हः ! ही ही हः ! ख. ईश्वरसँग के मैले मागें बुद्धिको निट्ठुर खर वरदान ? बुद्धि जो गुन्दछ, बाँड्दछ, बुन्दछ फेल्दछ, जेल्दछ, हान्दछ, ठेल्दछ, फेरि रोप्दछ, फेरि उखेल्दछ ? बुद्धिको बलियो कमजोरी, तपाईंहरुको बोक्रे शान ? प्रकृति नउत्रने ठेलमठेला ठेली निकाल्नोस् पढ्नोस् ल, संसार धुँधला छायामा, क, ख, ग, घ, ट, ठ, ड, ! मालिक मानिस ! ही ही हः ! घाँस बनाउन घाँसको बीउ नै नभई, तपाईको शक्ति छ ! मालिक मानिस ! ही ही हः ! ग. बुझ्नुभयो को गर्दछ के, के पर्दापछाडि, किन कसरी ? यसमा मालिक क्या मसरी ! बुद्धिमत्ता व्यङ्ग्य भनीकन बुझ्दछ पशुको जगत्, हरि ! कुन कविता हो हृदयस्पर्शी, गर्दभ–अवयव–हर्ष–लहर ? छन्द–सिहर ! घँस्याइलो यो चउर हुँदामा, न्यानो घामले उज्ज्वल प्रहर ? अथवा तपाईको मसीको लहर ? कृत्रिम बुट्टा कागजभर ? कोखा कुत्कुती लाग्छ अँ ! मालिक मानिस ! ही ही हः ! घ. काम–बुभुक्षा तत्व अगाडि चार वेदको के माने ? जूनकीरीको पुच्छर ! झिल्को, लोखर्केको सुपारी । यत्ति बुझे ता बुझियो सारा, किन यी अडकन भकारी ? तरङ्ग मेरा पनि छन् मालिक ! रङ्गी–बिरङ्गी भारी, तर म बोल्दिनँ, लेख्दिनँ, पोख्दिनँ, तपाईहरुझैं डकारी । हेर हेर ती क्रूर भयानक मुण्ठमाला रे मूर्तिहरु ! जननी बालक रेट पिउँदी ! हात्तीदेवका सूँडहरु ! मेरो ईश्वर घाँस मुनाझैं दुधिलो कलिलो गुलियो छः सर्वव्यापक कहिल्यै नमर्ने, फेरि उम्रने बलियो छ ! तर रे तपाईको ! कछुवा, वराह, सिंह हेर ! जो मनमा छ ! उकुसमुकुस भो पेटको तह ! मालिक मानिस ! ही ही हः ! यौन–पूजामा, भू–पूजामा केही झल्केथ्यो, केही ल ! मालिक मानिस ! ही ही हः ! ङ ज्ञानको तरुको निषिद्ध फल के काल–व्यालले चाख्न लगायो ? बाबा आदम ! त्यसको कस्तो रस आयो ? पृथ्वी–पतन औ भीषण श्राप ‘ खाएस् भालको पसिनाले र् ! ’ खच्चुङ ! जुृग जुग काँढा कुल्ची, वाह ! हलीको ह, ह, ह ! जल्दा मगजले बिन बिन दाना–घोरिउ लाटो–कोसेरोझैं हिसाब गरे सब के रैछ ! मेरो कहाँ गो ‘ माले ह ! ’ ? ईश्वर ज्यापु, मालिक म ! अन्तः करणको नाटीकुटीमा धर्मले आफै उल्टी खस रे स्वभाव निर्मित्त निज रौरव ! ल ! ल ! ल ! ज्ञान अज्ञान कुन ठूलो हँ ! मालिक मानिस ! ही ही हः ! च. नब्बे सालले के बतलायो, वास्तुकलाको देख्यौ धराप ? वेदको पाले बाहुन राख्यौ, देख्यो समाजै सडेदो पाप ? तासघरमा फू फू हावा, सड्दा, झूठा सब दावा स्वर्ग कल्पियौ नरक बनायौ, कमसेकम ता गर्दभ जाति बीच पृथिवीमा त छ ! अणुबम बनाई हामी बुजु्रग पशु पनि मार्ने सुर के छ ? झूठा–शानी ए ज्याक्–ड ? घाम र हावा कपडा हाम्रो, तिम्रो शरीरमा काँढा ल ! प्रकृतानन्दी तारस्वरमा, सच्चा कलाको मर्मज्ञ, बोल्छु गधा म फुइँ नझिक ? हामी गधाको बुद्धि सिक ! गिर्न उडेथ्यौ यसरी ल ! मालिक मानिस ! ही ! ही ! ह ! ही ही हः हः ! ही ही हः !
Laxmi Prasad Devkota- Gadha Bolchha |
साहित्य सुमन > Laxmi Prasad Devkota >
हुरीको गीत, गधा बोल्छ
Devkota's Poems "Huri ko Geet" and "Gadha Bolchha"