गौंथली र देवकोटा
लक्ष्मी प्रसाद देवकोटा
क.
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !
ख.
यस घाटमा क्या बाघ र पाठो पानी पिउँछ !
प्रकृति बसेर, दुइटैको दिल,
एक धागोमा सिउँछ, सिउँछ !
त्यो तर्सिन्न, म शङ्किन !
मध्यरातमा एक कोठामा
दुइटै जीवको जाग्ने निहुँ छ
तलतिर लागे यस संसारमा
आगो, आगो,
मास्तिर ज्यादा लागेदेखिन्
यशको चिसो हिउँ छ, हिउँ छ !
बीच बासो,
फ्यारफ्यार मध्यम,
रसले जिउँछ, रसले जिउँछ !
ग.
बिजुलीको तार लामो, मसिनो,
तानिएको हेर ! यहाँ छ !
तरङ्ग, लहर क्यै त्यसमा जिउँछ !
त्यसमा गौंथली रातमा रुँग्छ,
कविको मन पनि त्यस्तै उँग्छ !
स्वर्गले रोई हेरिरहेको
भिजेकी पृथिवी मनले सुँघ्छ !
दिनभर, दिनभर,
दिलले, साधन त्यस्तै हिलोमा
प्यारका एउटा महल बनाउन,
ठुँग्छ, ठुँग्छ !
सूनसानमा निशिको, सुत्दा
सारा संसार, जागी, जागी,
कल्पनाको आँखा उँग्छ !
घ.
सुहृद्मधु छन्, कविता, पोथी,
सँगकी ज्योति !
यस जगत्मा खँदिलो बासो
निम्ति, उनको ‘चिउँ’ छ ! ‘पिउँ’ छ !
मधुमास बिताउन नेपाल छान्यौं,
विवाहपछाडि,
स्वस्थ र अग्लो ठाउँ जुन छ ।
गौंथली र देवकोटाको
अध्यात्म मितेरी चुपचाप रुन्छ !
सृष्टिको हाम्रो पीडा देखी,
करुणादृग झैं तारामय नभ,
करयाइँबाट झ्यालमा चिहाई,
एक तारमा गुड्छ गुड्छ !
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !
ङ.
वसन्त पछाडि लागी आयौं !
स्वपनाको फुल बिपना हुन्छ !
गौरी–शङ्कर गाना गायौं —
प्रकृति पुरुषको जुहारी परस्पर,
गाना जुन छ !
त्यो चुच्चाको, यस रसनाको,
गाउँदो रचना हाम्रो घर हो !
युगका बच्चा आँखा उघार्लान्,
हेर्दै पर हो !
दिनभर, दिनभर,
जगत्ले कुल्ची हिंड्ने हिलोमा,
हाम्रो नजर छ
त्यही हो हाम्रो घरको साधन !
यस्तो ईँट र यस्तो माटो, नेपालभर छ !
पृथिवीभर छ !
दिनभर, दिनभर, फ्यारफ्यार, भुर्भुर,
माटोको गन्ध नाकले सुँघ्छ !
स्वर्ग रोई, गीला, बनेका हिला चुचाले
उचाल्न खोजी ठुँग्छ, ठुँग्छ
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !
च.
बच्चा काढी यस गुँडमा जब
तिनको पखेटा उम्रन्छ !
वनमा लगीकन तिनलाई उडाउन,
हाम्रो मीठो मनसूब छ !
त्यसपछि प्यारा, प्यारी हामी
कविकविताको गौंथली जोडी
उड्छ, उड्छ !
सागर–किनार पुग्छौं, फ्यारफ्यार
एक बार फर्की,
आँसुले हेर्न,
मानिसहरुको जङ्गल जुन छ !
डुब्छौं, दम्पति सागरमा तब,
सुखमा हाम्रो आत्मा बुड्छ !
प्रसव–वेदनाको यो सदनको
पीडा उड्छ !
गौंथली र देवकोटाको,
एउटै गुँड छ ! एउटै गुण छ ! | ग्रहण नुहाउदी प्रति लक्ष्मी प्रसाद देवकोटा
क.
सूर्यकी दुहिता ! चन्द्रकी भगिनी !
ए युवती ! गर स्नान !
ख.
अनार पालुवा लाल रहन्न
थाक्दछ बुलबुल गान !
समयले सुन्दर स्वपना सहन्न !
टुट्दछ रेशम तान !
ग.
यस पोकाम बिच्छी पस्छन्,
साँप हिलामा बस्छन् ।
मैला बेहोशीका क्षणमा
क्रूर जहरले डस्छन्
धोई राख्नुपर्दछ यस्तो
रातो रेशम थान !
घ.
अनन्त सम्झी मानव–जीवन
प्रलय भुल्दछौ हामी
क्षणका अन्धा दास बनीकन,
भ्रमका सुन्दर सदन बनाउन,
छौं नामी !
ङ.
सूर्य पिताको मुखमा राहु छ !
किरणहरुमा बार !
हिउँ हुने शङ्का मातालाई छ ।
खण्डहरको दुःस्वप्न कडाले
झस्किरहेछ संसार !
च.
जीवन–ज्योतिमा छाया पर्दछ,
किन बिरसौं ?
मत्र्यताको स्याउ रङ्गको
यस कायामा मृत्युको छाया
छोइरहेछ !
किन हरषौं ?
छ.
महाकालको दर्शन पायौं
ग्रास विषे !
छूत लाग्दछ पन्छीहरु लौ ?
क्या तरसे !
पृथिवीको हो यो गङ्गाजल !
स्नान गर !
चिसो छामोस् मूर्ख कलेवर !
सविता परका सविताको
भजन गर !
ज.
भूनिशाको यस छायामा
सूर्य बसे !
मत्र्यताको होश नराखे,
हृदय नधोए
यस्ता क्षणमा
साँप पसे !
झ.
बाग्मतीमा मध्याह्न
ग्रस्त महान् !
तर्सेकी चरी क्वै
गर्छ स्नान !
ञ.
बैंशचुलीमा छाया छ !
यो हो हृदय पखाल्ने बेला !
आवान यो हो महाश्मशानको !
धोऊ, गङ्गाजलले सुन्दरी !
अल्पायु सुनौला चोला !
ट.
ग्रहण बुझेका स्नाताहरुको
हृदय पखाल्ने भू–जल छ !
अवनिपुष्पमा बादल छाया !
विश्वास किरणमा निर्मल छ ! |